सुकुम्बासीको आँसु पुछ्न मैदानमै उत्रिए ऋषि धमला


काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताइरहेका निमुखा सुकुम्बासीहरूको आँसु पुछ्न र उनीहरूको मत्थर बन्दै गएको आवाजलाई सिंहदरबारसम्म पुर्‍याउन चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमला आफैँ मैदानमा उत्रिएका छन्। खोला किनारबाट विस्थापित भएको ५२ औँ दिन बितिसक्दा पनि भरपर्दो पुनस्र्थापना नभएपछि छटपटिएका सुकुम्बासीहरूका लागि अन्ततः धमला एउटा बलियो भरोसा बनेका छन्।


लामो समयसम्म राज्यका जिम्मेवार निकाय र तिनका प्रतिनिधिहरू मौन रहँदा होल्डिङ सेन्टरका सुकुम्बासीहरूले मंगलबार धमलासमक्ष आफ्ना पीडा र दुःखका भारी बिसाए। ऋषि धमलासँग उनीहरुले भने, ‘हामीमध्ये धेरै जना बिरामी छौँ, भरपर्दो उपचार पाएनौँ ।’ यसरी बालबालिका र वृद्धवृद्धाहरू भक्कानिएपछि धमला भावुक बनेका थिए।


तत्काल धमलाले स्वास्थ्य सचिव विकास देवकोटालाई फोन गरेर स्वास्थ्य टोली पठाइदिन आग्रह गरे । धमलाकै आग्रहमा बुधबार कीर्तिपुरको होल्डिङ सेन्टरका बिरामीको उपचारका लागि एक स्वास्थ्य टोली आउने जनाइएको छ ।


सञ्चारमाध्यममा प्रश्न सोध्न मात्र होइन, नागरिकका पीडामा मलम लगाउन पनि उत्तिकै तत्पर रहने चर्चित पत्रकार धमलाले तत्कालै ती पीडितहरूलाई ढाडस दिँदै अभिभावकत्व ग्रहण गरे। उनले पीडितहरूलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरू एक्लो हुनुहुन्न, ऋषि धमला तपाईंहरूको साथमा छ। तपाईंहरूको भरपर्दो पुनस्र्थापना गराउन सरकारलाई दबाब दिने जिम्मा मेरो भयो ।’

होल्डिङ सेन्टरमा कुपोषण र विभिन्न सरुवा रोगका कारण थला परेका बालबालिका तथा ओछ्यान परेका वृद्धवृद्धाहरूको कारुणिक अवस्था देखेपछि नै धमलाले अन द स्पट प्रशासनिक नेतृत्वलाई झक्झक्याएका हुन्। उनले एक सेकेन्ड पनि ढिला नगरी तत्कालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकोटालाई सिधै फोन गरेर होल्डिङ सेन्टरका सुकुम्बासीहरुको भयावह स्थितिबारे अवगत गराएका थिए ।

धमलाको प्रभावशाली प्रस्तुति, तार्किक अडान र नागरिकप्रतिको संवेदनशीलताका अगाडि राज्यको प्रशासनिक संयन्त्र पनि तत्कालै नतमस्तक बन्यो। धमलाकै बलियो पहलकदमीका कारण स्वास्थ्य सचिव देवकोटाले भोलि नै होल्डिङ सेन्टरमा चिकित्सकसहितको विशेष स्वास्थ्य टोली पठाउने प्रतिबद्धता जनाएका छन्। यो धमलाको एक्सन ओरियन्टेड कार्यशैली र नीतिगत तहमा उनको बलियो पहुँचकै परिणाम हो।

वास्तवमा, सुकुम्बासी बस्तीका लागि धमलाले यसरी संकटमोचकको भूमिका निर्वाह गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि उक्त सेन्टरमा स्वास्थ्य संकट आउँदा धमला आफैँ अग्रसर भएर स्वास्थ्य मन्त्रालयको ढोका ढक्ढक्याउन पुगेका थिए। उनकै दबाब र निरन्तरको ताकेतापछि मन्त्रालयले टोली खटाएर बिरामी सुकुम्बासीहरूको उपचार गराएको नजिर छ।

होल्डिङ सेन्टरका सुकुम्बासीहरूले आफूहरूलाई मगन्ते जस्तो बनाएर राखिएकोमा आक्रोश पोख्दै धमलासँग भने, ‘हामीलाई कसैको दान चाहिएको होइन, आफ्नै हातले कमाएर खाने स्थायी ठाउँ चाहियो।’ विस्थापनको झण्डै दुई महिना पुग्न लाग्दासमेत उनीहरूको पुनर्स्थापनामा उदासीन बनेको सरकारको लाचारीलाई धमलाले अब मुख्य एजेन्डा बनाउने घोषणा गरेका छन्।

धमलाले सुकुम्बासीहरूको यो आधारभूत र न्यायोचित समस्या समाधान गर्न सरकारलाई दबाब दिने बताएका हुन् । सिंहदरबारको बन्द कोठाभित्र रहने शासकहरूलाई भुइँमान्छेको आवाज सुनाएर ब्युँझाउने सामर्थ्य र आँट ऋषि धमलाले प्रदर्शन गरेका छन्।

नेपाली सञ्चार क्षेत्रमा ऋषि धमलाको नाम एउटा पत्रकारका रूपमा मात्र सीमित छैन। राज्य संयन्त्र सुतिरहेका बेला र जनता अन्यायमा पर्दा सडकदेखि सदनसम्म दबाब सिर्जना गर्न सक्ने एउटा दुरगामी र जुझारु नेतृत्वका रूपमा धमला स्थापित छन्। कीर्तिपुरको होल्डिङ सेन्टरमा उनले देखाएको द्रुत सक्रियता र मानवतावादी दृष्टिकोणले के पुष्टि गर्छ भने धमला क्यामरा र स्टुडियोका पर्दामा मात्र गर्जने पात्र होइनन्, उनी पीडितहरूको ओठमा हाँसो नफर्किएसम्म लडिरहने भुइँमान्छेका सच्चा नायक र आशाका वास्तविक संवाहक पनि हुन्।