कुवेतका विभिन्न जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य भएका नेपाली महिलाहरूको अवस्था चिन्ताजनक रहेको बताइन् । उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको अवस्था पनि अत्यन्तै दयनीय रहेको उल्लेख गरिन् ।

‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोकेर जेल पठाएका थिए । मैले फेरि दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो उनी स्वदेश आइपुगिन्,’ उनले भनिन् ।

उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै ओलीले कुवेतका जेलहरूमा अझै सयौं नेपाली महिलाहरू रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलनसमेत गुमाइसकेको जानकारी दिइन् ।