काठमाडौँ । जेनजी अगुवा रक्षा बमले चुनावअघि गरिएका बाचाहरू पूरा नगरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बमले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेलाई सम्बोधन गरेर जेनजी पुस्तासँग गरिएका प्रतिबद्धताहरू पूरा नभएकोमा आक्रोश व्यक्त गरेकी हुन्।
उनले सरकार र रास्वपा नेतृत्वलाई सोधेकी छन्, ‘जेनजी परिषद् गठनको कार्य कहाँ पुग्यो? जेनजी शहीदहरूको स्मारक निर्माणको कार्य कहाँ पुग्यो?’
जेनजी आन्दोलनकै जगमा वर्तमान सरकार निर्माण भएको स्मरण गराउँदै उनले युवा पुस्तासँग सम्बन्धित मुद्दाहरूमा सरकारले उदासीनता देखाएकोमा असन्तुष्टि जनाइन्।
‘तपाईंहरू सायद बिर्सिसक्नुभएको होला, जेनजी आन्दोलन यो सरकारको जरा हो,’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सम्झनुहोस् त, चुनावताका यिनै शहीदहरूको बलिदान र यही आन्दोलनको नाम लिँदै तपाईंहरूले भोट माग्नुभएको थियो।’
आफ्नो पोस्टमार्फत बमले निर्वाचनका बेला जेनजी आन्दोलनकारीहरूसँग गरिएका सम्पूर्ण बाचाहरू तत्काल पूरा गर्न नेतृत्वको ध्यानाकर्षण गराएकी छन्। उनले नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा प्रश्न गरेकी छन्, ‘अब पनि वाचा पूरा नगर्ने हो?’



प्रतिक्रिया