काठमाडौँ । नेकपाका नेता डा. भीम रावलले राज्यलाई कमजोर बनाउन दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाउने खेल भइरहेको आरोप लगाएका छन् ।
आज सामाजिक सञ्जालमा एक स्टाटु लेख्दै उनले रास्वपाको झन्डै दुई तिहाइ बहुमतको सरकारले सहसचिवभन्दा माथिका एवं लामो समय प्रशासनिक सेवा गरेका १० हजार बढी कर्मचारीलाई अवकाश दिन लागेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘नेपालको इतिहास हेर्दा २००७ सालको परिवर्तनपछि बाह्य शक्तिको इशारामा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ठुलो सङ्ख्यामा सेनाको कटौती गरेर दक्षिण एसियामा शक्तिशाली रहेको नेपाललाई कमजोर बनाए। २०४६–४७ सालको आन्दोलनपछि बहुमत प्राप्त नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकातिर प्रतिजासुसी संगठन खारेज गरी राष्ट्रको सुरक्षा प्रणाली कमजोर तुल्याए भने अर्कोतिर राज्यले धेरै ठुलो लगानी गरेर उत्पादन गरेको जनशक्तिलाई ठुलो सङ्ख्यामा हटाई प्रशासनयन्त्रलाई कमजोर बनाए। अहिले फेरि राज्यको धेरै ठुलो लगानी भएको र लामो समय प्रशासनयन्त्रमा रहेर दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल खेलिँदैछ,’ उनले भनेका छन् ।



प्रतिक्रिया