काठमाडौँ । राहदानी छपाइमा भएको भनिएको अर्बौँको अनियमितता प्रकरणले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। यसै सिलसिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि म्याद जारी गरेपछि पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत आफ्नो धारणा पठाएकी छन्।
अख्तियार उच्च स्रोतका अनुसार आफू हाल विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र टंगालस्थित मुख्यालयमा उपस्थित हुन नसक्ने व्यहोरा उनले इमेलमा उल्लेख गरेकी छन्। आयोगका एक उच्च अधिकारीले इमेल प्राप्त भएको पुष्टि गरे पनि उनले आफू हाल कुन देशमा रहेको भन्ने विवरण भने गोप्य नै राखेको बताए। स्रोतहरूका अनुसार उनी हाल हङकङमा रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
अख्तियारको प्रारम्भिक छानबिनले राहदानी खरिद प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको ठूलो अनियमितता भएको आशंका गरेको छ। अनुसन्धानको सुई राजनीतिक नेतृत्वतर्फ तेर्सिइरहँदा आयोगले यसअघि नै प्रशासनिक र प्राविधिक क्षेत्रका व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकेको छ। आरजु राणा देउवाको इमेल जवाफपछि आयोगले उनलाई पुनः समय दिने वा कानुनी प्रक्रियाअनुसार पक्राउ पुर्जीसम्मको बाटो रोज्ने भन्नेबारे टंगाल वृत्तमा छलफल शुरु भएको बताइएको छ।



प्रतिक्रिया