बजेटको प्रभावकारी कार्यान्वयनमा जोड


गण्डकी । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ।

प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताए। बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उनको भनाइ छ। रोजगारी र आयआर्जनका गतिविधि बढ्ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आले मगरले बताए। प्रदेशको समृद्धिका मुख्य आधारका रुपमा रहेका कृषि, पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उनको भनाइ छ।

प्रदेशसभा सदस्य देवका पहाडी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताए। उनले प्रदेश सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने बताए। उनले बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएपनि सरकारले लगानी प्रवर्द्धन, उद्यमशीलता, रोजजागरी सिर्जना, नवप्रवर्तनलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको बताए।

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताइन् । प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ।

प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले बजेटको सफलता यस कार्यान्वयनमा निर्भर रहने बताए। उनले युवाहरुलाई कृषि पेसाप्रति आकर्षिक गर्ने गरी ‘रिटर्न टु भिलेज’लगायत कार्यक्रमलाई बजेटमा समेटिनु सकारात्मक पक्ष रहेको बताए। नीति तथा कार्यक्रममा समावेश कतिपय योजना बजेट नपरेको उनको भनाइ छ।

प्रदेशसभा सदस्य गणेशमान गुरुङ, श्यामराजा महत, भोजराज अर्याललगायत बजेटमाथिको छलफलमा भाग लिएका थिए।

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, राजकुमारी भुजेल, सरस्वती गुरुङ, सिताकुमारी सुन्दासलगायत समसामायिक विषयमा आफ्ना धारणा राख्दै प्रदेशसभा र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। रासस