रास्वपा महाधिवेशन : नारा सुशासनको, तडकभडक करोडौँको


चितवन । नेपाली राजनीतिमा ‘पद्धति र पारदर्शिता’को नारा ओकल्दै संसद्को पहिलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा छ । आगामी असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने यस महाधिवेशनलाई रास्वपाले नयाँ युगको शुरुवात दाबी गरिरहेको छ ।

तर, भुइँतहका नागरिक र राजनीतिक विश्लेषकहरूले भने अहिले रास्वपाको तयारीलाई अर्कै नजरले हेर्न थालेका छन्- के रास्वपा पनि पुराना भनिएका दलहरूकै भड्किलो र खर्चिलो बाटोमा हिँड्न थालेको हो ?

महाधिवेशनको शुरुवाती खाका चितवनको रत्ननगरमा परम्परागत बाँसको पन्डाल हालेर गर्ने तय भनिएको थियो । रैथाने र कम खर्चिलो उपायलाई लत्याउँदै एकाएक कार्यक्रमस्थल भरतपुरको गेस्ट हाउस चौरमा सारियो । बाहना बनाइयो- असारे झरी र मौसमको प्रतिकूलता ।

अहिले त्यहाँ ३ हजार वर्गमिटर क्षेत्रफलमा जर्मन प्रविधिको आल्मुनियम संरचना र ‘वाटरप्रुफ टेन्साइल फेब्रिक’ प्रयोग गरेर तीनवटा विशाल अत्याधुनिक डोमहरू ठड्याइँदै छ– एलइडी स्क्रिन, पङ्खा र बहुमूल्य कुलर जडान गरिँदैछ ।

प्रश्न उठ्छ, सर्वसाधारणको लेबी र चन्दाबाट चल्ने दाबी गर्ने एउटा नवोदित पार्टीलाई अन्तर्राष्ट्रियस्तरका कर्पोरेट इभेन्टमा प्रयोग हुने यति महँगो प्रविधि किन चाहियो ? के यो कैयौँ लाख रुपैयाँको फजुल खर्च नेपाली राजनीतिको पुरानै रोग ‘तडकभडक र तामझाम’को नयाँ रूप होइन ?

रास्वपाले आफ्ना प्रतिनिधिहरूलाई होटलको बास र खानाको खर्च आफैँ व्यहोर्नुपर्ने नियम लगाएर आफूलाई आर्थिक रूपमा अनुशासित देखाउन खोजेको छ । होटल संघ चितवनले पनि लजमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिएर यसलाई सघाएको दाबी छ ।

तर, मुख्य रहस्य भने अझै पर्दाभित्रै छ । ४० हजारको जनसागर उतार्ने दाबी गरिएको यो महाधिवेशनका लागि १८ वटा उपसमितिहरू युद्धस्तरमा खटिएका छन् ।

जर्मन प्रविधिको डोम, अत्याधुनिक मञ्च व्यवस्थापन, प्रचार-प्रसार र डिजिटल मार्केटिङका लागि आवश्यक पर्ने मोटो रकमको स्रोत के हो ?

पारदर्शिताको वकालत गर्ने दलले हालसम्म यो महाधिवेशनमा लाग्ने करिब चार करोड खर्चको आधिकारिक स्रोत किन सार्वजनिक गरेन ?

रास्वपाले महाधिवेशनलाई सांगठनिक स्पष्टता दिने वैचारिक बहसभन्दा पनि शक्ति प्रदर्शनको थलो बनाउन खोजेको स्पष्ट देखिन्छ । मञ्चमा विशिष्ट अतिथिका रूपमा हाइप्रोफाइल नेताहरूलाई निमन्त्रणा गरिसकिएको छ ।

नीति र सिद्धान्तको जगमा उभिनुपर्ने पहिलो महाधिवेशनमा पुराना दलकै शीर्ष नेताहरूलाई लाइनमा राखेर रास्वपा कुन परिवर्तनको भाष्य निर्माण गर्न खोज्दैछ ? कतै यो आफ्नो आन्तरिक कमजोरी र वैचारिक शून्यतालाई पुराना नेताहरूको बैसाखीले ढाकछोप गर्ने प्रयास त होइन ?

रास्वपाले परम्परागत दलहरूभन्दा फरक हुने अवसर पाएको थियो । तर, पहिलो गाँसमै ढुङ्गा भनेझैँ पहिलो महाधिवेशनमै देखिएको यो खर्चिलो र भड्किलो शैलीले यसका नेतृत्वकर्ताहरू पनि बिस्तारै उही पुराना दलहरूकै विलासी संस्कृतिमा विलीन हुँदै गएको स्पष्ट संकेत गर्छ । संसद्मा सुशासनको चर्को नारा लगाउने रास्वपाले आफ्नो महाधिवेशनको खर्चको एक–एक रुपैयाँको हिसाब सार्वजनिक नगरेसम्म यो तामझाममाथि प्रश्न उठिरहनेछ ।