झापा । अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् ।
अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबिच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ । अर्जुनधारा उद्योग वाणिज्य सङ्घको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा सञ्चालन भएको रोजगार मेला बेरोजगार युवालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ ।
सङ्घका अध्यक्ष इन्दिवर खड्काका अनुसार मेलामार्फत चार जना ‘वेटर’, १० जना कुक, २० जना हाउसमेन, १३ जना सेक्युरिटी गार्ड, २५ पसलका कर्मचारी, छ केयरगिभर, पाँच शिक्षक, १० लोड–अनलोड गर्ने कर्मचारी, ड्राइभिङ लाइसेन्स प्राप्त १० जना र बाँकी अन्य क्षेत्रमन व्यक्तिले रोजगारी पाएका हुन् ।
मेलामा ब्युटीसियनतर्फ २५०, इलेक्टिसियनतर्फ ३००, कम्प्युटरसम्बन्धी तालिममा १२५ र वेटर, सेल्स, शिक्षक, लेखा, हाउसकिपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगीसम्बन्धी तालिम तथा परामर्शमा १५० जना सहभागी भएका थिए । त्यसैगरी बेकरीसम्बन्धी तालिममा १५० जनाले सहभागिता जनाएका उनले जानकारी दिए ।
करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको मेलाबाट प्रारम्भिक चरणमा १२१ जनाले रोजगारी प्राप्त गरेका अध्यक्ष खड्काले जानकारी दिए । नगरपालिकाले रोजगारसम्बन्धी कार्य हेर्ने छुट्टै कर्मचारीको व्यवस्था गरे आगामी वर्षदेखि थप एक सय जनासम्मलाई रोजगारी दिलाउन सकिने उनको भनाइ छ ।
मेला समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले दक्ष जनशक्तिको अभाव र बेरोजगारी समस्या समाधानमा रोजगार मेला प्रभावकारी बनेको बताए । उनले यस्ता कार्यक्रम केही वर्षअघि सुरु हुनुपर्नेमा जोड दिँदै यस वर्षदेखि मेला आयोजना गरिएको बताए । आगामी वर्षहरूमा पनि यसलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा रोजगार मेला सञ्चालन गरिएको थियो । यसअघि बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’बाट १६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आयोजित मेलामा एक हजार ७६ जनाले विभिन्न रोजगारीका लागि आवेदन दिएका थिए । तीमध्ये प्रारम्भिक चरणमा १६४ जना विभिन्न रोजगारदाता संस्थामा आबद्ध भएका हुन् ।
मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईंका अनुसार दुई हजार ८७१ जनाले मेला अवलोकन गरेका थिए । बाँकी आवेदकलाई योग्यता, अनुभव र सीपका आधारमा उपयुक्त रोजगारदाता सङ्घसंस्थासँग समन्वय गरी आगामी दिनमा रोजगारीमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।
झापाका दुई स्थानीय तहले सञ्चालन गरेका यी रोजगार मेलाबाट हालसम्म कूल २८५ जना युवाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । स्थानीय सरकार, उद्योग–व्यवसायी र निजी क्षेत्रबिचको सहकार्यबाट सञ्चालन गरिएका यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरण तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । रासस



प्रतिक्रिया