चितवन । नेपाली राजनीतिको परम्परागत लयलाई भत्काउँदै सत्ताको बागडोर सम्हाल्न आइपुगेका दुई युवा शक्ति- प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीचको पावर शेयरिङ कसरी अगाडि बढ्ला ? राजनीतिक वृत्तमा यो जिज्ञासाले स्थान पाइरहेका बेला सभापति लामिछानेले सत्ता सञ्चालनको मोडेललाई फुटबलको रोचक उपमा दिई व्याख्या गरेका छन्।
पूर्वसहमतिअनुसार नै सरकार अगाडि बढिरहेको दाबी गर्दै लामिछानेले प्रधानमन्त्री बालेन अब भटाभट गोल हान्ने निर्णायक पोजिसनमा रहेको बताएका हुन्। सरकारको नेतृत्व गरिरहेका बालेनलाई रास्वपा पार्टीले दह्रो राजनीतिक ब्याकअप दिएको लामिछानेले प्रस्ट पारे।
उनले भनेका छन्, ‘सरकार सञ्चालन गर्ने पूर्वसहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ। भटाभट गोल हान्ने जिम्मा उहाँलाई नै छ, झुक्किएर मेरो खुट्टामा आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो।’
रविको यस भनाइले प्रधानमन्त्री शाहलाई पूर्ण समर्थन गरेको प्रस्ट हुन्छ।
रवि लामिछाने आफूलाई स्ट्राइकरभन्दा पनि खेल नियन्त्रण गर्ने मिडफिल्डरको भूमिकामा राखेर सरकार टिकाउने र एजेन्डा पास गराउने रणनीतिमा रहेको देखिएको छ।
नयाँ शक्तिहरू सरकारमा आउँदा अस्थिरताको आशंका गर्नेहरूका लागि लामिछानेले आफू र बालेनबीच भएका सहमति अक्षर–अक्षर पालना हुने ग्यारेन्टी गरेका छन्। विगतमा पुराना दलहरूबीच हुने लिखित सम्झौताहरू बालुवाको जगजस्तै भत्किने गरेको इतिहास छ। तर, यसपटक इतिहासलाई साक्षी राखेर गरिएका सहमतिका बुँदाहरूबाट रास्वपा पछि नहट्ने उनको जिकिर छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रविको यो अभिव्यक्ति प्रधानमन्त्री बालेन शाहका लागि ठूलो ढाडस हो ।
नयाँ दलको उदय र सत्ता आरोहण जति सहज देखियो, त्यसलाई निरन्तरता दिनु र परिणाममुखी बनाउनु त्यति नै चुनौतीपूर्ण छ। यसै यथार्थलाई स्वीकार्दै लामिछानेले रास्वपालाई लडाउने र ढलाउने प्रयासहरू निकै भइरहेकोतर्फ संकेत गरे।
‘रास्वपालाई लडाउने, ढलाउने प्रयास निकै हुनेछन्, तर हामी प्रत्येकपटक त्यसबाट उठ्नेछौँ र अझ बलियो भएर अगाडि बढ्नेछौँ,’ लामिछानेले दृढता प्रकट गरे ।
यो भनाइले परम्परागत राजनीतिक शक्तिहरूबाट नयाँ समीकरणमाथि आइपर्न सक्ने सम्भावित संकट र घेराबन्दीप्रति रास्वपा नेतृत्व सचेत रहेको देखाउँछ। सिंहदरबारको यो नयाँ इनिङ्समा ‘बालेनको गोल’ र ‘रविको पास’ कत्तिको समन्वयकारी हुन्छ, त्यसैले नै यो सरकारको आयु र सफलता निर्धारण गर्नेछ।



प्रतिक्रिया