रास्वपा महाधिवेशन : सुरु हुँदै बन्दसत्र, दिउँसो उम्मेदवार मनोनयन


काठमाडौं, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुँदै छ ।

प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ । अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसमा छलफल हुनेछ । बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिर छलफल हुनेछ ।

बिहान १० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीबाट विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ । ११ः४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिनेछ । दिउँसो १२ः४५ बजे पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ ।

सोपश्चात् दिउँसो १ बजे खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ । बन्दसत्रमा रास्वपाका ४ हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयम्‌सेवक हुने छन् ।

आज दिउँसो १ बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यस्तै, बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ बजेदेखि ९ बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिनेछ । उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ बजे गरिनेछ ।

मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए । मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिनेछ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।