चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन, भरतपुरमा जारी प्रथम ऐतिहासिक महाधिवेशनमा प्रतिनिधिको संख्या सोचेभन्दा निकै बढी भएपछि व्यवस्थापन पक्षलाई चुनौती थपिएको छ। नयाँ नीति र नेतृत्व चयनका लागि भेला भएका प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले पार्टी वृत्तमा नयाँ तरंग पैदा गरेको छ। पार्टीका प्रवक्ता एवं नेता मनिष झाका अनुसार प्रारम्भिक चरणमा महाधिवेशनका लागि देशभर र प्रवासबाट गरी करिब ३ हजार प्रतिनिधिहरू सहभागी हुने आकलन गरिएको थियो। तर, बन्दसत्र सुरु भइसक्दा यो संख्या बढेर ४ हजार ३ सय नाघिसकेको छ।
“सहभागीहरूको यो संख्या अझै बढ्दो क्रममा छ र यो बढेर करिब ४ हजार ५ सयको हाराहारीमा पुग्ने अनुमान गरेका छौँ,” नेता झाले भने।
यस पटकको महाधिवेशनमा सबैभन्दा रोचक र अप्रत्याशित दृश्य प्रवास कमिटीहरूको देखिएको छ। रास्वपा स्रोतका अनुसार प्रवासबाट आउने प्रतिनिधिहरूको संख्या सुरुवाती अनुमानभन्दा करिब चार गुणा बढी छ। यसले नेपाली राजनीति र रास्वपाको एजेन्डाप्रति डायस्पोरामा रहेको तीव्र चासो र आकर्षणलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
प्रतिनिधिहरूको यो विशाल र अनपेक्षित उपस्थितिले भरतपुरको महाधिवेशन स्थलमा व्यवस्थापकीय र संगठनात्मक चाप निकै बढाएको छ। आवास, यातायात र बन्दसत्रको हल व्यवस्थापनमा केही सकस देखिए पनि त्यसलाई तत्कालै सम्बोधन गर्ने प्रयास भइरहेको बुझिएको छ।
रास्वपाले यसअघि नै महाधिवेशनका लागि कुनै पनि उद्योगी-व्यापारीबाट चन्दा संकलन नगर्ने र प्रतिनिधिहरूले आफ्नै खर्चमा सहभागी हुने नीति लिएको दाबी गरेको थियो। यस्तो अवस्थामा अनुमानभन्दा बढी प्रतिनिधिहरू आ-आफ्नो व्यवस्थापन आफैँ गरेर आउनुले पार्टीभित्र एक किसिमको सांगठनिक उत्साह थपेको छ भने अर्कोतर्फ आन्तरिक चुनाव र नेतृत्व व्यवस्थापनमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिदिएको छ।



प्रतिक्रिया