काठमाडौं । परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक गरेको छ । जसमा परराष्ट्रमन्त्री शिशिर खनालले गरेको भारत र चीन भ्रमणको विषय लगायतका विषय समावेश गरिएको छ ।
भारतका विदेशमन्त्री एस. जयशकंरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले २०८३ साल जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसक्रममा विकास सहकार्य, व्यापार, ऊर्जा र जनस्तरको सम्बन्धबारे द्विपक्षीय वार्ता गरेका थिए ।
परराष्ट्रमन्त्री खनालले जनवादी गणतन्त्र चीनका विदेश मन्त्रीको निमन्त्रणामा २०८३ जेठ ३१ देखि असार ३ गतेसम्म चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए ।
सार्वजनिक सूचिमा २०८३ जेठ १२ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन र काठमाडौंस्थित यूरोपेली र अन्य मुलुकका राजदूत नियोग प्रमुखहरूले संयुक्त शिष्टाचार भेट गरेको पनि उल्लेख गरेको छ। उक्त कार्यक्रमका लागि तयारी,‘समन्वय र सहजीकरण परराष्ट्र मन्त्रालयले गरेको थियो ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिद्धारा आयोजित परराष्ट्र मन्त्रालयसँग सम्बन्धित अन्तरक्रियामा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव सहभागी भएका थिए । त्यसक्रममा मन्त्रालयका प्राथमिकता, चालू कार्यक्रम, द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक गतिविधि तथा परराष्ट्र नीतिसम्बन्धी विषयहरूमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
यसबाहेक भारत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा भएक काम पनि समावेश छ ।
कन्सुलर सेवा विभागबाट १२२ जना नेपाली नागरिकहरूको उद्धार तथा क्षतिपूर्तिका लागि र विदेशमा मृत्यु भएका २२ जना नेपालीहरूको शव व्यवस्थापनका लागि नेपाली नियोगहरूसँग समन्वय तथा सहजीकरण गरिएको विवरण छ ।



प्रतिक्रिया