सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल


घोराही (दाङ), २७ असोज । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङद्वारा आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्याएका प्रतिपक्ष दललाई सरकारले बेवास्ता गरेको आरोप लगाए ।

पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन २१ मा जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावनाअनुरुप काम गर्नुपर्नेमा अलमलिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य र कोमल वली, पार्टी जिल्ला अध्यक्ष शिवकुमार आचार्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम डाँगीलगायत सहभागी थिए ।

यसैबीच, त्यस अवसरमा जिल्ला उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत एवं सम्मानसमेत गरिएको थियो ।