देवदह (रुपन्देही), १० असार । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ ।
वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले जानकारी दिए ।
वडा कार्यालयको आयोजना तथा आधार तालिम सेन्टरको व्यवस्थापनमा भैरहवामा सञ्चालित तालिममा २७ जना महिलाको सहभागिता छ । महिलालाई आयआर्जन र उद्यमशीलतासँग जोड्न तालिम सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।
“तालिम लिएरमात्र हुँदैन, यसको सदुपयोग गर्नुपर्छ, तालिम निःशुल्क भनिए पनि तपाईँहरूले सरकारलाई तिरेको करबाट सञ्चालन गरिएको हो”, उनले भनिन् । तालिममा पाएको प्रमाणपत्र घरमा मात्र राखेर यसको उपलब्धि नहुने भएकाले आर्थिक उपार्जनमा लाग्न उनले महिलाहरूलाई आग्रह गरिन् ।
त्यस्तै आधार तालिम सेन्टरका प्रमुख अनिल केसीले भने,”केही सहयोग गर्नुपरे सम्झनुहोस्, सहयोग गर्छौैैँ ।” तालिममा सहभागी (प्रशिक्षार्थी) अनुपा पाण्डेले तालिममा प्रशिक्षकले राम्रोसँग ज्ञान दिएको बताए ।



प्रतिक्रिया