काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले भोलि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले WhatsApp समूह, TikTok र Instagram लगायत सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्।
आन्दोलनको तयारीबारे बोल्दै रञ्जित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दाबी गरे। “हामीलाई अन्याय भएको छ। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको देखिन्छ। कतिपय विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिनसमेत समस्या भइरहेको छ भने धेरै साथीहरूको अपेक्षाभन्दा फरक नतिजा आएको छ। त्यसैले हामी आफ्नो आवाज उठाउन प्रदर्शनमा जान लागेका हौँ,” उनले भने।
आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको छ। साथै, कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक सुरक्षा व्यवस्थाका लागि समन्वय भइरहेको पनि उनीहरूले बताएका छन्।
विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूका अनुसार कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो।
परीक्षाको नतिजापछि चारजनाले आत्महत्या गरिसकेका छन्, हजारौं विद्यार्थीहरु तनावमा छन् ।
आयोजकहरूले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई भोलि माइतीघर मण्डलामा उपस्थित भई शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थी अधिकारको पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। उनीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया