मनसुनको लय सुस्त: रोपाईंको गति पनि सुस्त


काठमाडौँ । नेपाली आकाशमा मनसुन भित्रिएसँगै मुलुकभर मानो रोपेर मुरी उब्जाउने चटारो सुरु भएको छ। तर, यसवर्ष मनसुनको प्रारम्भिक गति सुस्त रहँदा रोपाइँको रफ्तारले सोचेजस्तो गति लिन सकेको छैन। कृषि विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर करिब १० प्रतिशत अर्थात् १ लाख ३७ हजार हेक्टर जमिनमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।
गतवर्षको तुलनामा यस वर्ष रोपाइँको दरमा शून्य दशमलव ४ प्रतिशतको झिनो वृद्धि देखिए पनि यसलाई सन्तोषजनक मान्न सकिने अवस्था छैन। मुलुकभर कुल १३ लाख ८१ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको पृष्ठभूमिमा ९० प्रतिशत क्षेत्रफल अझै बाँझै छ।
भौगोलिक अवस्थिति र पानीको उपलब्धताका आधारमा यस वर्षको रोपाइँको चित्र अलि फरक देखिएको छ। असारको पहिलो सातासम्मको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। स्थानीय जलस्रोत र पहाडी भेगका साना सिँचाइ कुलाका कारण यहाँ रोपाइँले गति लिएको हो।
मधेश प्रदेशमा ५ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ। तराईमा आकाशे पानी र भूमिगत सिँचाइको भर पर्नुपर्ने बाध्यताका कारण यो सुस्तता देखिएको हो।
यता, बागमती प्रदेशमा अहिलेसम्म् २.३ प्रतिशत मात्र रोपाइँ भएको छ।
धान उत्पादन र क्षेत्रफलका हिसाबले तराई क्षेत्र मुलुककै मेरुदण्ड हो। कुल धान उत्पादनमा तराईको हिस्सा ७० प्रतिशत छ भने पहाडी क्षेत्रको योगदान मात्र ३० प्रतिशत रहने गरेको छ। तराईमै रोपाइँ ढिलो हुनुले आगामी हिउँदमा खाद्य सुरक्षामा पर्न सक्ने असरतर्फ संकेत गर्छ।
कृषि विभागका अनुसार यसवर्ष मनसुन ढिला सक्रिय भएका कारण देशका अधिकांश भागमा रोपाइँका लागि आवश्यक पर्याप्त वर्षा हुन सकेको छैन। नेपालको कृषि प्रणाली अझै पनि ठूलो मात्रामा आकाशे पानीमाथि निर्भर छ, जसले गर्दा मौसमको सामान्य उतारचढावको सीधा असर उत्पादनमा पर्छ।