काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारले सरकारको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै “पीडितहरूको सरोकार पत्र” सार्वजनिक गरेका छन्। असार ११ गते जारी उक्त पत्रमार्फत उनीहरूले सरकारले अस्थायी होल्डिङ सेन्टरबाट हटाउन गरिएको निण्र्रय अमानवीय भएको बताएका छन्।
सरकारले नदी, किनार तथा सार्वजनिक जग्गा खाली गराउने क्रममा विस्थापित गरिएका परिवारलाई केही समयका लागि होल्डिङ सेन्टरमा राखेको थियो। तर, पछिल्लो समय उनीहरूलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिएर ५ दिनभित्रै बाहिरिन निर्देशन दिइएको छ, जसले पीडित समुदायमा थप अन्योल र त्रास सिर्जना गरेको छ।
सरकारी निकायले असार ९ गते ५ दिनभित्र २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरूले आफूहरूलाई व्यवस्थापनका लागि जाने ठाउँ देखाउन भनेको छ ।
‘होल्डिङ सेन्टरबाट स्थायी व्यवस्थापन नहुञ्जेलसम्म सरकारको प्रत्यक्ष सेवा सुविधा पर्यात रूपमा दिइयोस् वा व्यवस्थापनका लागि हामीलाई जाने ठाउँ देखाइयोस्, हामी जान तयार छौं,’ उनीहरूले भनेका छन्।
सार्वजनिक गरिएको सरोकार पत्रमा पीडितहरूले आफूहरूलाई सुरुमा सुरक्षित स्थानमा स्थायी समाधान दिने आश्वासन दिइएको तर व्यवहारमा त्यसको विपरीत भइरहेको उल्लेख गरेका छन्। ‘अस्थायी रूपमा राखिएको भनिए पनि दुई महिनासम्म बस्दा पनि कुनै स्पष्ट योजना आएको छैन,’ पत्रमा भनिएको छ।




प्रतिक्रिया