निर्जला एकादशीः जलाशयमा श्रद्धालुको घुइँचो


काठमाडौँ । धार्मिक पर्व ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। भगवान् विष्णु तथा श्रीहरिको सबैभन्दा प्रिय तिथि मानिने यस दिन उपवास, पूजा–आराधना र दान गरी पुण्य प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।
बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, चार नारायणलगायत मुलुकभरका गङ्गा, पवित्र नदी, तलाउ तथा जलाशयहरूमा स्नान गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ। स्नान पश्चात् भक्तजनहरूले भगवान् नारायणको विशेष पूजा–आराधना गरिरहेका छन्।
वर्षभरिका २४ वटा एकादशीमध्ये सबैभन्दा कठिन र महत्त्वपूर्ण मानिने यस एकादशीको मुख्य विशेषता जलसमेत त्याग गरेर व्रत बस्नु हो। गर्मी मौसमको असाध्यै गर्मी समयमा पानीसमेत नपिई व्रत बस्नुलाई आत्मसंयम र आध्यात्मिक साधनाको उच्च रूप मानिन्छ। यद्यपि शारीरिक अस्वस्थताका कारण व्रत बस्न नसक्नेहरूले पनि श्रद्धापूर्वक पूजा, दान र संयम पालन गरिरहेका छन्।
शास्त्रीय मान्यताअनुसार यस दिन गरिने दानको विशेष महिमा छ। आजको दिन जल वा सर्बतले भरिएको घडा (घैँटो) अन्न, वस्त्र, शय्या, आसन, कमण्डलु, छाता तथा अन्य आवश्यक सामग्री धार्मिक गृहस्थहरूले ब्राह्मण तथा गरिब–दुःखीलाई दान दिने गर्छन् ।

यस एकादशीको अर्को महत्त्वपूर्ण पक्ष तुलसी पूजनसँग जोडिएको छ। आजको दिन श्रद्धापूर्वक तुलसीको दल बीउ सङ्कलन गरी भगवान् विष्णुलाई अर्पण गरिन्छ। यही तुलसीलाई आगामी हरिशयनी एकादशीका दिन रोप्ने र हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गराउने वैदिक परम्परा रहेको छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार निर्जला एकादशीमा श्रद्धापूर्वक व्रत, दान र रात्रिकालीन जागरण गर्नाले आध्यात्मिक शुद्धि, मानसिक संयम र भगवानप्रति अटुट भक्तिभाव जागृत हुने विश्वास गरिन्छ।