काभ्रे । पूर्वी र मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो र भरपर्दो लाइफलाइन वीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को काभ्रेपलाञ्चोक–सिन्धुली खण्डले नयाँ रूप लिँदैछ। वि.सं. २०८१ असोजको त्यो कहालीलाग्दो बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकखण्डलाई नामोनिसान नरहने गरी रोशी खोलामा विलीन गराइदिएको थियो।
विपत्तिलगत्तै रोशी खोलाको बगरमै अस्थायी डाइभर्सन बनाएर जेनतेन गाडी त गुडाउने गरियो, तर आकाशमा बादल मडारिने बित्तिकै र रोशीमा पानीको बहाव बढ्ने बित्तिकै त्यो डाइभर्सन बगाउने र हजारौँ यात्रु सडकमै अलपत्र पर्ने नियति नियति बनिसकेको थियो।
तर, अब यो सास्तीका दिन सकिँदैछन्। यस वर्षको मनसुन सुरु भइसक्दा डिभिजन सडक कार्यालय भक्तपुर र जाइका ९जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको भगीरथ प्रयासले राजमार्गको पुनर्निर्माणलाई युद्धस्तरमा अगाडि बढाएका छन्। फलतः आउँदो असार १५ गतेदेखि नै नयाँ पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमन गराउने अन्तिम तयारी भइरहेको छ।
अहिलेसम्म रोशी खोलाको बहावसँगै गाडी कुदाउनुपर्ने बाध्यता थियो। तर, सम्भावित बाढीको जोखिम र वर्षायामलाई मध्यनजर गर्दै यसपटक इन्जिनियरिङ शैली बदलिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार अहिले खोलाको सतहभन्दा सात मिटर उचाइसम्म माटो र ढुङ्गा भरेर सडकको जग उठाइएको छ र त्यसमाथि ग्राभेल राख्ने काम तीव्र पारिएको छ। वर्षा सकिएपछि यसलाई खोलाको सतहभन्दा १० मिटर उचाइमा पुर्याएर मात्र कालोपत्रे गरिनेछ।



प्रतिक्रिया