काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण प्रारम्भ भएको छ ।
विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यपालिका अनुरूप तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो ।
उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ ।
पूर्वनिर्धारित कार्य तालिकाअनुसार भोलि (सोमबार)बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुने जनाइएको छ ।
यसअघि शनिवार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सम्पन्न भएको थियो ।



प्रतिक्रिया