काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनमा भएको गम्भीर कमजोरीप्रति आपत्ति जनाउँदै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले सरकारले गठन गर्ने छानबिन समिति झारा टार्ने माध्यम मात्र बन्न नहुने भन्दै सरकारलाई सचेत गराइन् ।
बैठकमा आफ्नो धारणा राख्दै सांसद गुरुङले भनिन्, ‘नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिको निष्पक्ष र यथाशीघ्र छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गरियोस् । छानबिन समिति केवल झारा टार्ने कामको लागि मात्र प्रयोग नहोस् ।’
सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा जस लिन खोज्दा यस्तो गम्भीर लापर्बाही भएको आरोप लगाइन् । परीक्षाको संवेदनशीलतालाई ध्यान नदिई कोडिङ र डिकोडिङमा लापरबाही गरिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।
बोर्डको प्राविधिक त्रुटिका कारण पीडित बनेका विद्यार्थीहरूबाट पुनः परीक्षणका नाममा चर्को शुल्क लिन नहुने जिकिर गर्दै उनले निःशुल्क पुनः परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।



प्रतिक्रिया