काठमाडौँ । बजेट घोषणा भएको महिना दिन बितिसक्दा पनि करको दायरा र दरलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा संशय कायमै छ । विशेषगरी निजी विद्यालयको शुल्कमा प्रस्तावित करलाई लिएर सडकदेखि सदनसम्म बहस तातिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको बचाउ गरेका छन् ।
प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले राज्य सञ्चालनका लागि राजस्व वृद्धि अपरिहार्य रहेको जिकिर गरे । करको विरोध गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले राजस्व संकलनविना राज्य चल्न नसक्ने स्पष्ट पारे ।
‘आम्दानी ह्वात्तै बढाउन नसक्दा खर्च धान्न थोपा–थोपा गरेर राजस्व संकलन गर्नुपर्छ । कर नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ,’ अर्थमन्त्री वाग्लेले प्रस्ट पारे ।
निजी विद्यालयको शुल्कमा लगाइएको कर गरिब तथा निम्न आय भएका नागरिकलाई लक्षित नगरिएको अर्थमन्त्रीको दाबी छ ।
नयाँ नीतिअनुसार केही निश्चित निजी विद्यालयमा लाग्ने ३ प्रतिशत समता शुल्कबाट संकलित रकम सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणाली सुदृढ बनाउन खर्च गरिनेछ । यसलाई गणितीय रूपमा बुझाउँदै उनले भने, ‘महिनाको १० हजार रुपैयाँ निजी विद्यालयमा खर्च गर्ने परिवारले करिब तीन सय रुपैयाँ योगदान गर्दा त्यसबाट संकलित रकम भुइँमान्छे, सीमान्तकृत, दलित तथा निम्न आय भएका समुदायका बालबालिकाको शिक्षामा लगानी गरिनेछ ।’
यो नीति पूर्णतः समतामूलक र समाजवादी चरित्रको भएको भन्दै उनले वामपन्थी विचारधारा बोक्ने दलहरूले समेत यसको समर्थन गर्नुपर्ने तर्क गरे । विगतको स्मरण गराउँदै उनले संसद्मा भने, ‘यो कुनै नयाँ प्रयोग होइन, वि.सं. २०६४ सालमै यस्तो व्यवस्था शुरु भएको थियो ।’
निजी क्षेत्र र मध्यम वर्गबाट आउन सक्ने आक्रोशलाई मत्थर पार्न अर्थमन्त्री वाग्लेले बजेटले दिएका सहुलियतहरूको फेहरिस्तसमेत प्रस्तुत गरे । मध्यम वर्गमाथि अतिरिक्त भार नपरोस् भनेर सरकारले विभिन्न कर छुटको प्रबन्ध गरेको उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले एकातिर मध्यम वर्गलाई कर सहुलियत दिएर बचाउने र अर्कोतर्फ हुनेखाने वर्गबाट उठेको रकम भुइँमान्छेको शिक्षा र स्वास्थ्यमा व्यापक रूपान्तरणका लागि लगानी गर्ने सरकारी रणनीति रहेको संकेत गरेका छन् । तर, संकलित राजस्वको सही सदुपयोग र सार्वजनिक विद्यालयको गुणस्तर सुधारमा सरकार कत्तिको खरो उत्रिन्छ, त्यो भने आगामी दिनले नै पुष्टि गर्नेछ ।



प्रतिक्रिया