कम्युनिस्ट आन्दोलन एकै निर्वाचनले सकिएको निष्कर्ष निकाल्न हुँदैन :विद्या भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको बताएकी छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलकई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने उनले बताइन् । ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन् ।

उनले बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीरताका साथ आत्मसात् गर्न आवश्यक रहेको बताइन्।

‘जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समय अनुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित हुन्छ’ उनले थपिन्, ‘अब विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त हुँदैन। वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिनसक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक छ।’