आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन


कञ्चनपुर, १५ असार । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरी बंगुरपालन सुरु गरेका चौधरीले यस वर्ष मात्रै ६० वटा बंगुरका पाठापाठी बिक्री गरेका छन् । प्रति पाठापाठी पाँच हजार रुपैयाँका दरले बिक्री हुँदा करिब तीन लाख आम्दानी भएको उनले बताए ।“यस वर्ष ६० वटा पाठापाठी बिक्री गरेका छौँ,” उनले भने, “तीन वटा माउ बंगुर पनि एक लाख भन्दा बढीमा बिक्री भएका छन् ।”

हाल उहाँको फार्ममा १५ वटा माउ बंगुर र १९ वटा पाठापाठी रहेका छन् । बंगुरपालनका लागि चारो र स्वास्थ्योपचारमा वार्षिक करिब दुई लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए ।बंगुरपालनसँगै चौधरीले फार्मसँगै माछापोखरी निर्माण गरी माछापालनलाई पनि निरन्तरता दिएका छन् । बंगुरको मलमूत्र सिधै पोखरीमा जाने व्यवस्था मिलाइएकाले माछाको प्राकृतिक आहाराको व्यवस्थापन हुने गरेको उनले बताए ।

माछापालनबाट पनि वार्षिक करिब रु दुई लाख आम्दानी हुने गरेको उनको भनाइ छ । उत्पादन भएको माछा स्थानीय बजारमै बिक्री हुने गरेको छ भने बंगुर कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा मागअनुसार नगदमा बिक्री गर्ने गरिएको उनले बताए ।

विद्यालयको काममा व्यस्त रहने दिउँसोको समयमा श्रीमतीले फार्मको व्यवस्थापन सम्हाल्ने र बिहान–साँझ आफैँले चारो हाल्ने तथा अन्य आवश्यक काम गर्ने गरेको चौधरीले बताए ।“विद्यालयबाट पाउने तलबले मात्रै परिवारको खर्च धान्न सकिँदैन,” उनले भने, “त्यसैले विकल्पका रूपमा बंगुर र माछापालन सुरु गरेको हुँ,अहिले यही व्यवसायले राम्रो साथ दिएको छ ।

बंगुर बिक्रीबाट भएको आम्दानी बचत गरेर गाउँमै पक्की घर निर्माण गरेको उनले बताए । बालबालिकाको शिक्षा, घरायसी खर्च तथा आकस्मिक आवश्यकतामा पनि बंगुर र माछापालनबाट आएको आम्दानीले ठूलो सहयोग पुगेको उनको अनुभव छ । ग्रामीण क्षेत्रमा सीमित तलबमा निर्भर नहुँदै वैकल्पिक व्यवसाय अपनाए राम्रो आम्दानी लिन सकिने उदाहरणका रूपमा चौधरीको बंगुर र माछापालन व्यवसाय स्थापित हुँदै गएको छ ।