काठमाडौँ । आफ्नो आक्रामक र अनौठो अन्तर्वार्ता शैलीका कारण सधैँ चर्चाको शिखरमा रहने चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमला सोमबार भने फरक शैलीमा देखिएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा उनी भाषणमा मात्र सीमित भएनन्, आफैँ हिलोमा ओर्लिएर बेग्लै रौनक थपे ।
काठमाडौँ उपत्यकाको एक फाँटमा असार १५ का अवसरमा धमला आफैँ हिलोमा हामफालेका थिए । उनले खेतमा आली मात्र लगाएनन्, रोपेर हिलाम्मे हुँदै रमाइलोसमेत गरे । धमलाको यो क्रेज हेर्न र उनीसँग खेत रोप्न स्थानीयको ठूलो भीड लागेको थियो ।
हिलोमै उभिएर आफ्नो ट्रेडमार्क शैलीमा कुरा गर्दै धमलाले देशको अर्थतन्त्र सुधार्न कृषि क्रान्ति नै एक मात्र विकल्प भएको ठोकुवा गरे ।
‘जबसम्म हामी आफैँ किसान भएर काम गर्दैनौँ, तबसम्म देश बन्दैन,’ धमलाले आफ्नो परिचित लवजमा भने, ‘अब युवाहरू खाडी जाने होइन, गाउँ फर्कनुपर्छ र बाँझो खेतबारीलाई हरियाली बनाउनुपर्छ ।’
उनले सरकारलाई कडा प्रश्न गर्दै किसानलाई समयमै सहुलियतमा मल र बीउ उपलब्ध गराउन माग गरे । ‘अब नेपालले खाद्यान्न आयात गर्ने होइन, निर्यात गर्ने हैसियत राख्नुपर्छ । यसका लागि स्वतन्त्र नागरिक अभियानले दबाब दिइरहनेछ,’ उनले थपे ।
धमलाको उत्साह त्यतिमै रोकिएन । उनले खेतमा गुडिरहेको ट्याक्टरको स्टेरिङ आफैँ सम्हाले र केही बेर खेत जोतेर सबैलाई चकित पारे ।
त्यस्तै, धमलालाई साथ दिन उनकी पत्नी एवं अभिनेत्री एलिजा गौतम पनि खेतमा ओर्लिएकी थिइन् । एलिजाले पनि हातमा धानको बीउ समात्दै स्थानीय महिलाहरूसँग असारे गीतको भाकामा धान रोपाइँ गरिन् । धमला दम्पतीको यो कदमले यसवर्षको धान दिवसलाई थप रंगीन र चर्चायोग्य बनाएको छ ।
राजनीतिक वृत्तलाई आफ्नो प्रश्नले हल्लाउने धमलाले खेतको हिलोमा देखाएको यो सक्रियताले कृषि क्षेत्रप्रतिको चासोलाई फेरि एकपटक राष्ट्रिय बहसको विषय बनाइदिएको छ ।



प्रतिक्रिया