काठमाडौं, असार १५ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत आज ब्राजिल र जापान आमनेसामने भएका छन् । टेक्सासस्थित ह्युस्टन रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार राति १०ः ४५ बजेदेखि सुरु भएको छ।
प्रतिस्पर्धाको विजेताले अन्तिम १६ मा नर्वे वा आइभरी कोस्टमध्ये एक टोलीसँग खेल्नेछ । समूह ‘सी’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको ब्राजिल उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको छ । पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेलेको ब्राजिलले त्यसपछि हैटी र स्कटल्यान्डलाई समान ३-० ले हराउँदै उत्कृष्ट लय समातेको थियो । पहिलो खेलमा सुरुआती गोल खाएपछि ब्राजिलले लगातार सात गोल गर्दै कुनै गोल खाएको छैन र उत्कृष्ट प्रदर्शन गरेको छ ।
मुख्य प्रशिक्षक कार्लो एन्सोलोट्टीको नेतृत्वमा ब्राजिलको खेल दिनप्रतिदिन सन्तुलित बन्दै गएको देखिएको छ । सन् २००२ मा विश्वकप जित्दाको यात्रापछि पहिलो पटक टोलीले यति लामो समय लगातार प्रभावशाली प्रदर्शन गरेको हो । यस प्रतियोगितामा चोटबाट फर्किएका नेइमारले ९८१ दिनपछि राष्ट्रिय टोलीका लागि खेल्दै कमब्याक गरेका छन् । उनी चारवटा विश्वकप खेल्ने चौथो ब्राजिली खेलाडी बनेका छन् ।
पाँच पटकको विश्वविजेता ब्राजिलसँग तुलना गर्दा जापानले विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन । यो जापानको पाँचौँ नकआउट यात्रा हो । जापानले यसअघि विश्वकपमा नकआउट चरणमा तीन पटक हार बेहोरेको छ । तीमध्ये सन् २००२ मा टर्की, २०१८ मा बेल्जियम र २०२२ मा क्रोएसियासँग पराजित भएको थियो । ती तीनवटै टोलीले अन्ततः प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए । समूह ‘एफ’ मा जापानले नेदरल्यान्ड्स र स्विडेनसँग बराबरी खेल्दै ट्युनिसियालाई ४(० ले हराएको थियो । जारी खेलको २० मिनेटसम्म कुनैपनि टोलीले गोल गर्न सकेका छैनन् ।



प्रतिक्रिया