मनसुन थप सक्रियः देशैभर मुसलधारे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अपिल


काठमाडौं । नेपालमा मनसुनी गतिविधि क्रमशः बढ्दै जाँदा आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा आउन सक्ने सम्भावित परिवर्तन र यसले निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै दुई दिनअगावै विशेष बुलेटिन जारी गरेर आवश्यक सावधानी अपनाउन आम नागरिक तथा सरोकारवाला निकायलाई सचेत गराएको हो।

विभागका अनुसार गएराति पनि नेपालका धेरै ठाउँमा राम्रो वर्षा भएको छ, यद्यपि काठमाडौं र मधेशका केही सीमित क्षेत्रमा मात्र पानी परेको थियो। आज दिउँसो नेपालभरि नै वर्षाको बलियो सम्भावना रहेको र विशेषगरी पश्चिम नेपालका क्षेत्रहरूमा भारी वर्षा हुन सक्ने विभागले जानकारी दिएको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले यो भारी वर्षाको स्थिति सिर्जना भएको हो।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। विभागका अनुसार यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्छ।

देशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण गरिएको छ।

मौसममा आएको बदलावलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराई क्षेत्रमा अलि बढी सावधानी अपनाउन विशेष अनुरोध गरेको छ।व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराई क्षेत्रमा अलि बढी सावधानी अपनाउन विशेष अनुरोध गरेको छ।