लालपुर्जा र नागरिकता माग्दै सुस्तावासी माइतीघरमा


काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को सुस्ता सधैँ चर्चाको केन्द्रमा रहन्छ- तर, राज्यको प्राथमिकतामा कहिल्यै पर्दैन । यसपटक सुस्ताबासी आफ्ना समस्या समाधानका लागि आवाज उठाउन लड्न संघीय राजधानी काठमाडौं आइपुगेका छन् ।

आफ्नै मातृभूमिमा अनागारिक जस्तै बन्नु परेको पीडा बोकेर सुस्ताका सयौँ बासिन्दा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बस्दै छन् । उनीहरूको माग पुरानै तर गम्भीर छ— नेपाली नागरिकताको सुनिश्चितता र आफ्नो जमिनको लालपुर्जा ।
सुस्तावासीको मुख्य दुखेसो भनेकै उनीहरूले रगत बगाएर रक्षा गरेको माटोमा उनीहरूकै कानुनी हक छैन । पुस्तौँदेखि खेतीपाती गर्दै आएको जमिनको स्वामित्व उनीहरूसँग छैन । त्यस्तै, राज्यले नेपाली नागरिक त भन्छ तर प्रशासनिक झमेला र उदासीनताका कारण ठूलो सङ्ख्यामा सुस्तावासी अझै पनि नागरिकता पाउनबाट वञ्चित छन् ।
सुस्ताको यो अवस्था र नागरिकको छटपटीका बीच केही समयअघि स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमला सुस्ता पुगेका थिए । उनले त्यहाँका स्थानीयको दुःख देखेपछि सुस्ताको शिक्षा, स्वास्थ्य, नागरिकता र लालपुर्जाको समस्या समाधानका लागि केन्द्र सरकारसँग सक्दो पहल गर्ने रसहयोग गर्ने आश्वासन दिएका थिए ।
धमलाजस्ता अभियन्ताहरूको भ्रमण र आश्वासनले सुस्तावासीमा आशा त जगाएको छ, तर काठमाडौँको सत्ता र सिंहदरबार यस्ता आश्वासनहरूमा मात्रै पग्लिने खालको छैन । त्यसैले, आश्वासनको भर नपरी सुस्तावासी आफैँ सिंहदरबारलाई ब्युँझाउन मण्डलाको सडकमा ओर्लिन बाध्य भएका हुन् ।

सुस्ताका नागरिकले आफ्नो अधिकार मात्र मागिरहेका छैनन्, उनीहरूले अप्रत्यक्ष रूपमा नेपालको सार्वभौमिकताको रक्षा गरिरहेका छन् । जबसम्म सीमामा बस्ने नेपालीहरूले राज्य हुनुको प्रत्याभूति (शिक्षा, स्वास्थ्य, नागरिकता र भूमिअधिकार) पाउँदैनन्, तबसम्म काठमाडौँले गर्ने राष्ट्रियताको भाषण केवल सस्तो नारामा सीमित हुनेछ ।