गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा भेटिएको घटनापछि देशभरका होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन


काठमाडौं, असार १६ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

गृहमन्त्री स्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाएका हुन्। पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनका लागि आह्वान गरिएको छ।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउने वा प्रचलित कानुनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गरिने शाखा अधिकृत सापकोटाद्वारा जारी परिपत्रमा भनिएको छ।

गृह मन्त्रालयले देशभर सञ्चालित कतिपय होटल तथा रेष्टुरेण्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकहरूबाट प्राप्त व्यापक गुनासाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह मन्त्रालयले आमनागरिकका गुनासाहरू सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रूत सेवा डेस्क) तुरुन्त स्थापना गर्नका लागि निर्देशन दिएको छ।

नागरिकस्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न अनुरोध गरिएको छ। स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न साना तिना विषयमा गुनासोकर्ताहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रुपमा अन्त्य गर्ने परम्पराको अन्त्य गर्न भनिएको छ।