म्याग्दी, १७ असार । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको जिल्लाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार पूर्णखोप घोषणा गरिएको हो ।
जिल्लामा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।
बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक छन् ।
बालबालिकालाई पूर्णखोप लगाउनका लागि ३७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणाअघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको÷नलगाएको विषयमा अध्ययन गरेका थिए ।
यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी चौथो जिल्ला बनेको जिसस म्याग्दीका कार्यवाहक प्रमुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री पाण्डेले बताए ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले प्रदेश पूर्णखोप अभियानको निरन्तरतामा जोड दिँदै प्रदेश सरकारमातहतको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था मिलाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।
मन्त्री पाण्डेले बेनी अस्पतालमा जनशक्ति र उपकरण व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । म्याग्दीलाई २०७१ साल चैत १५ गते नेपालको छैटौँ पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता म्याग्दीलाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणालाई निरन्तरता दिइँदै आएको छ ।



प्रतिक्रिया