रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै ‘घण्टी’ उपहार


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसँगै पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहार दिएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै घण्टी उपहारस्वरूप प्रदान गरेका हुन् ।

रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमध्ये निर्वाचनमार्फत ९९ जना चयन भएका छन् । सात जना प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्नेछन् ।

स्थापनाको चार वर्षपछि रास्वपाले गत असार ७ देखि १३ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो ।