काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि सभापति लामिछानेले उनीहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ जडित मायाको चिनो र प्रमाणपत्रसमेत प्रदान गरे ।
रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने अन्य ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन भएका थिए ।
शपथ ग्रहणलगत्तै रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठकमा पार्टी विधानअनुसार मनोनित गर्न बाँकी रहेका ५१ जना केन्द्रीय सदस्यको चयन र मापदण्डका विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया