पेट्रोल पम्पहरूमा निगमद्वारा अनुगमन तीव्र


काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएलगत्तै काठमाडौँ उपत्यकासहित देशभरका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको चरम अभाव देखिएको छ । मूल्य घट्ने पूर्वअनुमानमा व्यवसायीहरूले डिपोबाट तेल नउठाउँदा उपभोक्ता मर्कामा परेका हुन् ।

बजारमा मूल्य घट्ने हल्लासँगै नोक्सानी बेहोर्नुपर्ने डरले पम्प सञ्चालकहरूले केही दिनदेखि इन्धन खरिद नगरेको निगम स्रोतले जनाएको छ । यसले गर्दा काठमाडौँलगायत देशका विभिन्न भागमा रहेका अधिकांश निजी पेट्रोल पम्पहरूले ‘पेट्रोल छैन’ भन्दै बोर्ड टाँसेर बिक्री वितरण ठप्प पारेका छन् । अचानक पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सवारी चालकहरू सरकारी पम्पहरूमा घण्टौँ लाइन बस्न बाध्य छन् ।

निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले उपभोक्तालाई राहत दिन निगमले ठूलो मात्रामा मूल्य कटौती गरे पनि व्यवसायीको असहयोगका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको हो ।

‘उपभोक्तालाई सास्ती दिने गरी इन्धन लुकाउने वा पम्प बन्द गर्नेमाथि कडा कारबाही हुने नेपाल आयल निगम स्रोतले जनाएको छ ।

इन्धनको हाहाकार र कालोबजारीको गुनासो बढेपछि निगमले तत्कालै एक्सन लिएको छ । बजारमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन निगमले काठमाडौँ उपत्यकामा मात्रै तीनवटा विशेष टोली परिचालन गरी आकस्मिक अनुगमन गरिरहेको छ ।

निगमका अनुसार अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको वा तेल लुकाएको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार कडा कारबाही गरिनेछ ।