काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको छ ।
महाधिवेशन समापनलगत्तै बसेको उक्त पहिलो बैठकले चितवनको भरतपुरमा ऐतिहासिक रूपमा प्रथम महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण प्रतिनिधि, शुभेच्छुक, सुरक्षाकर्मी तथा स्थानीयलाई धन्यवाद ज्ञापन गरेको छ ।
केन्द्रीय समिति बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै पार्टीका सहमहामन्त्री हरि ढकालले बैठकले पार्टीका विभिन्न महत्त्वपूर्ण आयोगहरूको नेतृत्व चयन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार निर्वाचन, लेखा र अनुशासन आयोगको नेतृत्व चयन गर्ने काम केन्द्रीय समितिले टुङ्ग्याएको हो ।
जसअनुसार निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय भएको छ भने अनुशासन आयोगमा नयाँ नेतृत्व चयन गरिएको छ ।
‘निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई कायम राख्ने निर्णय भएको छ भने अनुशासन आयोग प्रमुखमा कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ’ — हरि ढकाल, सहमहामन्त्री (रास्वपा) ।
नयाँ कार्यसमिति आएसँगै रास्वपाले आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारलाई थप आक्रामक बनाउने संकेत गरेको छ ।



प्रतिक्रिया