विश्वप्रसिद्ध गुरु महाराजजीद्वारा ऋषि धमला सम्मानित


काठमाडौँ । भारतको गुजरात र हरिद्वारलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएका विश्वप्रसिद्ध गुरु महाराजजीले नेपालका चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलालाई विशेष सम्मान गरेका छन् । नेपालमा सनातन धर्म र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण र साहसिक कार्य गरेको उच्च मूल्याङ्कन गर्दै गुरु महाराजजीले धमलालाई सम्मान गरेका हुन् ।

विश्वभर करोडौँ भक्तजन रहेका गुरु महाराजजीले पत्रकार धमलाको कार्यशैली र सामाजिक योगदानको कदर गर्दै यसअघि नै गुजरातमै आमन्त्रण गरेका थिए । तर, नेपालको समसामयिक राजनीतिक घटनाक्रम, निरन्तरको पत्रकारिता र चौबिसै घण्टाको कार्यव्यस्तताका कारण धमला गुजरात जान पाएका थिएनन् । अहिले गुरु महाराजजी स्वयं नेपाल भ्रमणमा आएको विशेष उपलक्ष्य पारेर धमलालाई काठमाडौँमै सम्मान गरिएको हो ।

सम्मानित भएपछि पत्रकार धमलाले आफूलाई विश्वप्रसिद्ध गुरु महाराजजीबाट प्राप्त यो सम्मानले ऊर्जा थपेको बताए । ‘म देश, जनता र आफ्नो धर्म–संस्कृतिको रक्षाका लागि सधैँ अहोरात्र खटिने व्यक्ति हुँ,’ धमलाले भने, ‘महाराजजीले मलाई गुजरात नै बोलाउनुभएको थियो, तर कार्यव्यस्तताले जान पाइनँ । आज उहाँ आफैँ नेपाल आएर मलाई यसरी सम्मान गर्नु मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली सञ्चार जगतकै लागि गौरवको कुरा हो । म आगामी दिनमा पनि धर्म र सत्यको पक्षमा अझै सशक्त रूपमा लागिरहनेछु ।’