काठमाडौँ । श्रम संस्कृति पार्टीले आफ्ना मधेश प्रदेशका प्रभावशाली नेता दीपकजंग ठाकुरलाई पार्टीबाट निलम्बन गरेको छ। पार्टीको नीति, सिद्धान्त र आन्तरिक अनुशासनविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा ठाकुरमाथि यो कडा कारबाही गरिएको हो।
पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ठाकुरको निलम्बनबारे आधिकारिक जानकारी गराएका हुन्। सामाजिक सद्भावमा आँच पुर्याउने तथा सांगठनिक मर्यादाभन्दा बाहिर गएर समस्या सिर्जना गर्ने कार्यमा ठाकुरको संलग्नता पुष्टि भएपछि पार्टीले बिहीबारदेखि नै लागू हुने गरी यो निर्णय लिएको बुझिएको छ।
अध्यक्ष साम्पाङले उल्लेख गरेका छन्, ‘पार्टीको गरिमा र सामाजिक सद्भावमा आँच पुर्याउने छुट कसैलाई छैन। अर्को व्यवस्था वा सूचना जारी नभएसम्म दीपकजंग ठाकुरसँग पार्टीको नाममा कुनै पनि आधिकारिक गतिविधि नगर्न र नगराउन सम्पूर्ण पार्टी पंक्ति तथा सरोकारवालाहरूलाई सचेत गराइन्छ।’
निलम्बनमा परेका ठाकुरको तर्फबाट भने यस विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।



प्रतिक्रिया