काठमाडौँ । उपत्यकामा महिलाहरूको सार्वजनिक यातायात यात्रालाई सुरक्षित र भरपर्दो बनाउन आगामी साउन १ गतेदेखि विशेष ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत यो नवीन र सुरक्षाकेन्द्रित यातायात सेवा सुरु गर्न लागिएको हो।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सरकारको सुरुवाती सय दिनभित्र उपत्यकामा कुल २५ वटा ‘ब्लु बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ, जसको पहिलो चरणअन्तर्गत साउनको सुरुवातदेखि नै आठवटा बस सडकमा ओराल्ने तयारी तीव्र पारिएको छ।
यो सेवा व्यवस्थापनको जिम्मा पाएको साझा यातायातले आवश्यक कानुनी र वित्तीय प्रक्रियाका लागि अर्थ मन्त्रालयसँग राय तथा सहमतिको माग गर्दै पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट वित्तीय तथा प्राविधिक स्वीकृति प्राप्त हुनासाथ साउन १ गतेदेखि नै बस सेवा विधिवत् रूपमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
यात्रुहरूको बढी चाप र सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रारम्भिक चरणमा आठवटा बसलाई निम्न तीनवटा मुख्य रुटमा परिचालन गरिनेछः
– लगनखेल–बुढानीलकण्ठ रुटः २ वटा बस
– थानकोट–नागढुङ्गा–विमानस्थल रुटः २ वटा बस
– चक्रपथ क्षेत्रः ४ वटा बस
रिङरोडमा गुड्ने चारवटा बसमध्ये दुईवटा घडीको सुई घुम्ने दिशा (क्लकवाइज) र दुईवटा विपरित दिशा (एन्टिक्लकवाइज) भएर चक्रपथ घुम्नेछन्, जसले गर्दा चक्रपथ वरिपरिका महिला यात्रुलाई आवागमनमा निकै सहज हुने अपेक्षा गरिएको छ।
यातायात क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहार रोक्न र उनीहरूको आत्मसम्मानपूर्वक यात्रा गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको यो कदम कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।



प्रतिक्रिया