काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा गराएका सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य परीक्षणको माग नगर्न र स्वास्थ्य संस्थालाई पनि त्यसो नगराउन आग्रह गरेको छ । बोर्डले सात महिनायताको भुक्तानी बाँकी रहे पनि बिमितको उपचार सेवामा कुनै अवरोध नगर्न स्वास्थ्य संस्थाहरूलाई अनुरोधसमेत गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै बोर्डले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको दाबी रकम मात्रै भुक्तानी गरिएको स्पष्ट पारेको छ । उक्त अवधिसम्मको सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बक्यौता फरफारक भइसकेको बोर्डको भनाइ छ ।
बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । मंसिरपछिको दाबी रकम भने सरकारबाट आवश्यक बजेट विनियोजन भएपछि मात्रै भुक्तानी गरिने बोर्डले जनाएको छ ।
‘मंसिरयताको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भुक्तानी बाँकी रहेको अवस्थामा पनि बिमितलाई उपचार सेवा दिन कुनै अवरोध नगर्न र तोकिएको मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गर्दछौँ ।’
यसैगरी, बोर्डले बिमित सेवाग्राहीलाई पनि आवश्यकताभन्दा बढी स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न सचेत गराएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनावश्यक परीक्षण वा उपचारका लागि दबाब नदिन पनि बोर्डले ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया