महोत्तरी । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानीका लागि कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले कोइरीलाई पक्राउ गरी कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाएको हो ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ६० वर्षीय कोइरीलाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार पठाइएको हो । कोइरी २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७२ भदौ २५ गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकमाथि आक्रमण गरी हत्या गरिएको घटनामा कोइरी संलग्न थिए । उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो ।
तर, जिल्ला अदालतको उक्त फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले यही असार १७ गते कोइरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १७ (२) बमोजिम ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
उच्च अदालतको फैसला लगत्तै फरार रहेका कोइरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले असार १८ गते पक्राउ गरेको थियो । उनलाई शुक्रबार महोत्तरी जिल्ला अदालत, जलेश्वरमा उपस्थित गराएर अदालतको आदेशानुसार कैद सजाय भुक्तानीका लागि जलेश्वर कारागार पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया