काठमाडौँ । प्रखर राजावादी नेता धवलशमशेर जबराले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले कुनै पनि कानुन ल्याए आफूहरू देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जबराले गणतन्त्र र संघीयताको शान्तिपूर्ण विरोध गर्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको जिकिर गरे ।
संवैधानिक दायराभित्रै रहेर गरिने विरोधलाई राज्यले बल प्रयोग वा कानुनमार्फत रोक्न खोजे लाखौँको सङ्ख्यामा जेल जान तयार रहेको उनले उद्घोष गरे ।
नेता जबराले वर्तमान राजनीतिक व्यवस्था र यसका कमी–कमजोरीमाथि प्रश्न उठाउन पाउने अधिकारमाथि अंकुश लगाउन खोजिए प्रत्युत्पादक हुने बताए । सम्बोधनका क्रममा उनले भने, “यदि राज्यले नागरिकको संवैधानिक अधिकार मिच्ने गरी कुनै पनि निरंकुश कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रका विरोधीहरू चुप लागेर बस्ने छैनन् । हामी जेल भर्ने आन्दोलन सुरु गर्छौँ र लाखौँको सङ्ख्यामा जेल जान तयार छौँ ।”
उनले आफूहरू मुलुकमा विशिष्ट पहिचानसहितको नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको खुलासा गरे । उनले अबको शक्तिले संवैधानिक राजतन्त्र, सनातन वैदिक धर्म तथा रैथाने किराँत र बौद्ध धर्मलाई समेत समेटेर हिन्दु अधिराज्य स्थापना गर्ने लक्ष्य बोकेको स्पष्ट पारे । वर्तमान राजनीतिक दलहरूले देशलाई निकास दिन नसकेको उनको तर्क थियो ।



प्रतिक्रिया