काठमाडौं, असार २१ । गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाध स्वच्छता मन्त्री निशा मेहताले आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्रीद्धयले स्वास्थ्य सेवा सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । मन्त्रीद्वयले प्रतिष्ठानका पदाधिकारीसँग करिब तीन घण्टा छलफल गर्दै सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास तथा देखिएका समस्याबारे जानकारी लिएर फकिएका छन् ।
छलफलमा एमआरआइ मेसिन जडान, एमसीएच भवन सञ्चालन, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठानमा सुशासन कायम गर्ने विषयमा विशेष रूपमा छलफल भएको सुनसरी जिल्लाको जेन्जी संयोजक नवीन राईले बताए ।
गृहमन्त्री गुरुङले मेडिकल सेवा, एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्य बिमा तथा अन्य बेथितिको शीघ्र समाधानका लागि सम्बन्धित निकायबिच समन्वय गरी काम अघि बढाउन निर्देशन दिए । छलफलमा गृहमन्त्री गुरुङले यही महिनादेखि प्रतिष्ठानमा प्रत्येक महिना सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको सयोजक राईले बताए।
छलफलपछि स्वास्थ्यमन्त्री मेहताले आवश्यक बजेट छुट्याइसकेकाले अब सुधारका काम तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको प्रक्रिया अघि बढिसकेको, डायलाइसिस सेवाको स्तरोन्नति गरिने तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक तयारी भइरहेको मन्त्री मेहताले बताईन् ।



प्रतिक्रिया