तेस्रो पटक विवाह बन्धनमा बाँधिए अमिर खान


काठमाडौं, असार २१ । बलिउड अभिनेता अमिर खान तेस्रो पटक विवाह बन्धनमा बाँधिएका छन्। उनले लामो समयदेखि सम्बन्धमा रहेकी गौरी स्प्राटसँग आइतबार भारतको मुम्बईस्थित आफ्नै निवासमा पारिवारिक सदस्य र निकट साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन्।

अमिर र गौरीले विशेष विवाह ऐनअन्तर्गत दर्ता विवाह गरेका हुन्। विवाह समारोहमा दुवै परिवारका सदस्य, अमिरका छोराछोरी तथा केही निकट साथीहरूको मात्र सहभागिता रहेको बताइएको छ। भव्य समारोहभन्दा पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै उनीहरूले निजी रूपमा विवाह सम्पन्न गरेका हुन्।

६१ वर्षीय अमिर खानको यो तेस्रो विवाह हो। यसअघि उनले रीना दत्तसँग पहिलो र फिल्म निर्माता किरण रावसँग दोस्रो विवाह गरेका थिए। दुवैसँग सम्बन्धविच्छेद भए पनि उनीहरूबीच पारिवारिक सम्बन्ध र सन्तानको जिम्मेवारीमा सहकार्य कायम रहेको बताइन्छ।

अमिर र गौरी लामो समयदेखि एकअर्कालाई चिन्ने भए पनि पछिल्ला केही वर्षयता प्रेम सम्बन्धमा थिए। अमिरले यसअघि नै गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए भने जुलाई ५ मा विवाह गर्ने जानकारी पनि दिएका थिए।

विवाहसँगै अमिर खानको व्यक्तिगत जीवनले नयाँ अध्याय सुरु गरेको छ। सामाजिक सञ्जालमा नवविवाहित जोडीलाई शुभकामना दिनेहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको छ।