प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक समितिमा पठाइँदै


काठमाडौं, असार २२ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाएको छ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३’ संसद्मा प्रस्तुत गर्नेछिन् । त्यसअघि उनले उक्त विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव सभासमक्ष राख्ने कार्यसूची छ ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई विस्तृत दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार अध्ययनका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग सम्बन्धित दुई महासन्धिमाथि विचार गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव पनि संसद्मा पेस गर्नेछन्। ती प्रस्तावमा बाध्यकारी श्रमसम्बन्धी महासन्धि, १९३० को सन् २०१४ को प्रोटोकल नम्बर–२९ तथा श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर–८१) समावेश छन् ।

संसद् सचिवालयका अनुसार यी विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि प्रारम्भिक छलफल गरी आवश्यक प्रक्रियाअनुसार सम्बन्धित समितिमा पठाउने तथा थप विचारका लागि संसद्को निर्णय लिने कार्यसूची तय गरिएको छ।