महोत्तरी, २२ असार । विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो ।
विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९र८० यता उपचार लिनेको सङ्ख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेकामा केन्द्रमा २०७९र८० यता यो सङ्ख्या एक हजारमुनि झरेको छ । केन्द्रमा आव २०७९र८० मा ८७८, आव २०८०र८१ मा ८८४ र आव २०८१र८२ मा ७०२ जनाले उपचार लिएका छन् । चालु आव २०८२र८३ को (असार २० गते)सम्मको अवधिमा ७२२ जनाले उपचार लिएका उपचारमा संलग्न नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख भोला चौधरीले जानकारी दिए ।
केन्द्रमा स्थापनायताका वर्षमा सबैभन्दा बढी आव २०७७र७८ मा चार हजार १९१ जनाले उपचार लिएका छन् । त्यसैगरी, आव २०७६र७७ मा तीन हजार ९४७, आव २०७८र७९ मा तीन हजार ९३२, आव २०७५र७६ मा तीन हजार ६४१, आव २०७४र७५ मा तीन हजार ५४२, आव २०७३र७४ मा तीन हजार ३९४, आव २०७२र७३ मा तीन हजार ३१० र आव २०७१र७२ मा तीन हजार १२८ जनाले उपचार सेवा लिएका छन् । स्थापनाकालदेखि हालसम्म जम्मा ३२ हजार २७१ जनाले उपचार लिएका केन्द्रको अभिलेखमा उल्लेख छ ।
पछिल्ला चार वर्षमा आसपासका धेरै ठाउँमा सर्पदंश उपचार सेवा सञ्चालनमा आउनु र सहरीकरण बढ्दै जाँदा सर्पले ठाउँ छोड्दै गएपछि घटना कम हुनसँगै उपचार लिनेको सङ्ख्या घट्दै गएको प्राविधिक टोलीका प्रमुख चौधरीको भनाइ छ ।
एक दशकअघिसम्म विषालु सर्पको त्रास रहेको बर्दिबास नगर क्षेत्रमा सर्पदंशका घटना बढेपछि सामुदायिक प्रयत्नबाट सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्रमा स्थापनाकालदेखि नै नेपाली सेनाका दक्ष प्राविधिक टोलीले उपचार सेवा दिँदै आएका केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउँछन् । केन्द्रले स्थापनाकालयता हालसम्म उपचार लिन आएमध्ये ६७ जनालाई मात्र अन्यत्र रेफर गरेको उनको भनाइ छ ।



प्रतिक्रिया