ढोरपाटन (बागलुङ), २२ असार । बागलुङ नगरपालिका–६ मा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको हो ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ७४ लाख र स्थानीयको पाँच लाखबराबरको जनश्रमदान गरी ७९ लाखमा भवन निर्माण गरिएको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । गत वैशाख पहिलो साता निर्माण समितिसँग सम्झौता गरी काम सुरु भएकामा छोटो समयमा भवन निर्माण सम्पन्न भएको उननको भनाइ छ ।
निर्माण समितिमार्फत काम गर्दा करिब दुई महिना २१ दिनमा भवन तयार भएको अध्यक्ष केसी बताउँछन् । उनका अनुसार भवन निर्माणका लागि स्थानीयले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण गरिएको हो । उक्त भवनबाट आकस्मिक कक्ष, ओपिडी, परिवार नियोजन तथा मातृशिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष र भान्सा कोठा बनाइएको अध्यक्ष केसीले बताए ।
उनले भने, “भवन जीण हुँदा सेवाप्रवाहमा केही समस्या भएको थियो, अब समस्या समाधान भएको छ, स्थानीय समितिमार्फत काम गर्दा समयमै पनि काम सकियो, अब यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिन प्रयास गर्नेछौँ, भवन व्यवस्थित भएको हुँदा अब सेवालाई पनि व्यवस्थित बनाउनुपर्ने छ ।”
स्वास्थ्यचौकी प्रमुख विष्णनाथ शर्माले अब यहाँबाट पहिले दिँदै आएको सेवासहित प्रसूति सेवा पनि दिने बताए । पहिले भवन अभावका सेवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ । भवन निर्माणपछि त्यसको संरक्षणका लागि तारबार गरिएको छ । पहिले स्वास्थ्यचौकीले नियमित खोप सेवासमेत सञ्चालन गर्दै आए पनि भवन अभावमा खोप सुरक्षित राख्न नसकेपछि बागलुङ बजार पठाउनुपर्ने बाध्यता रहेको सुनाउँदै अब स्वास्थ्यचौकीमै राख्न सकिने प्रमुख शर्माले बताए।
“स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि यहाँबाट दिने सेवा पनि थप प्रभावकारी बन्नेछन्, अहिलेसम्म खोप पनि सुरक्षित राख्न सकिने अवस्था थिएन, अब त्यो समस्या हटेको छ”, उनले भने, “नयाँ भवनमा विद्युत् सेवा सहज भएको डिपफ्रिज, औषधि भण्डारण गर्न सकिनेछ भने बिरामीलाई समयमै उपचार गर्न सकिनेछ ।”



प्रतिक्रिया