काठमाडौँ । इरानी इस्लाम क्रान्तिका संवाहक एवं सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको अन्तिम शव यात्रा सोमबार राजधानी तेहरानका सडकहरूमा निस्कँदा सिंगो देश स्तब्ध र भावविह्वल देखिएको छ।
सरकारी सञ्चारमाध्यमहरूले दाबी गरे झैँ, यो आधुनिक इरानको इतिहासकै सबैभन्दा विशाल अन्त्येष्टि समारोह बनेको छ। १० किलोमिटर लामो रुटमा उभिएका लाखौँ मानिसहरूको आँशु र आक्रोश मिश्रित सुस्केराले तेहरानका गल्लीहरू गुञ्जायमान छन्।
भीडको आकार यति विशाल छ कि सर्वोच्च नेताको पार्थिव शरीर बोकेको वाहन मानवसागरको बीचमा तैरिएझैँ देखिएको छ। सवारीको गति ठप्प प्रायः छ। विशेष गरी तेहरानको प्रसिद्ध ‘आजादी स्ट्रिट’ मा मानिसहरूको उपस्थितिले खुट्टा राख्ने ठाउँसमेत बाँकी राखेन, जसका कारण शव यात्रालाई अघि बढाउन सुरक्षा निकायले निकै कसरत गर्नुपरिरहेको छ।
मानिसहरूको अनियन्त्रित चापका कारण प्रशासनले आफ्ना योजनाहरू नै परिवर्तन गर्नुपरेको छ। अधिकारीहरूका अनुसार सडकबाट यात्रा सम्भव नभएपछि अब खामेनेईको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत यात्रा मार्गको माथि लैजाने तयारी गरिएको छ, ताकि टाढा–टाढासम्म फैलिएको जनसागरले आफ्ना नेतालाई अन्तिम बिदाइ र दर्शन गर्न सकून्।
तेहरानको यो विशाल बिदाइपछि पनि खामेनेईको अन्तिम यात्रा टुङ्गिने छैन। धार्मिक र राजनीतिक रूपमा महत्त्वपूर्ण केन्द्रहरूको परिक्रमा गराउँदै उनको पार्थिव शरीरलाई इरानको पवित्र मानिने धार्मिक शहर कोम लैजाने कार्यक्रम छ।
त्यसपछि, उनलाई आफ्नै गृहनगर मशहद पुर्याइनेछ, जहाँ उनको अन्त्येष्टि गरिनेछ।



प्रतिक्रिया