अभिषेक गिरीलाई थुनामुक्त गर्न अदालतकाे आदेश


विराटनगर । जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

सोमबार जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले उच्च अदालतको अघिल्लो आदेशलाई सदर गर्दै गिरीलाई बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा उनी पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले गिरीलाई ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराएको थियो । तर, अदालतले गिरीलाई थुनामुक्त गर्न आदेश दिए । उनका अन्य तीन सहयोगीको हकमा भने म्याद थप गरेको छ ।

गिरीका सहयोगीहरू सञ्जय मण्डल, विनोदकुमार सिंह र विजय कामतलाई अपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।