सियोल, २३ असार । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ । कम्पनीले मङ्गलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल–जुन अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो ।
विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढेर एक हजार ७१० खर्ब वोन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले बढी हो । कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ ।
एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको छ । यही कारण सामसुङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेपछि सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो ।
सेजोङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक किम डे–जोङले सामसुङको अनुमानित नाफालाई कम्पनीकै इतिहासको सबैभन्दा ठूलो त्रैमासिक परिचालन मुनाफा भएको बताए । उनका अनुसार कम्पनीले यस्तो प्रदर्शन निरन्तर कायम राख्न सके विश्वकै अग्रणी उत्पादन कम्पनीका रूपमा अझ बलियो स्थान बनाउन सक्छ । तर उनले एआईसँग सम्बन्धित मेमोरी चिपको उच्च माग कति समयसम्म कायम रहन्छ भन्ने विषय नै आगामी चुनौती रहने उल्लेख गरे । उनका अनुसार अर्को वर्षसम्म माग सुरक्षित देखिए पनि त्यसपछिको अवस्था निश्चित छैन ।
सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि मङ्गलबार बिहानको कारोबारमा सामसुङको सेयर मूल्य करिब सात प्रतिशतले घटेको थियो । सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटले पनि यसको प्रभाव पारेको विश्लेषण गरिएको छ ।
दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले बजार विश्लेषण उद्धृत गर्दै सामसुङको प्रारम्भिक नाफा अनुमान विश्लेषकहरूको औसत प्रक्षेपणभन्दा छ दशमलव दुई प्रतिशतले बढी रहेको जनाएको छ ।
सामसुङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा करिब आठ हजार खर्ब वोन बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन् । प्राध्यापक किमका अनुसार उक्त परियोजना सम्पन्न भएपछि पनि सामसुङले हालको आयको स्तर कायम राख्न सक्छ वा सक्दैन भन्ने विषय भने अझै अनिश्चित छ ।
केही विश्लेषकले एआई पूर्वाधारमा हुने सम्भावित लगानी सुस्ताइलाई अहिलेको मेमोरी चिप बुमका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन् । तर काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङले उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीचको अन्तर अझै उल्लेखनीय रूपमा कायम रहेकाले व्यापक मन्दीको निष्कर्ष निकाल्न हतार हुने बताए । उनका अनुसार केही प्रतिस्पर्धी कम्पनीका डाटा सेन्टर परियोजना ढिलो हुन सक्छन्, तर त्यसलाई समग्र एआई पूर्वाधार लगानी घटेको संकेतका रूपमा लिन मिल्दैन ।
एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन् । यसले ती उपकरणको मूल्यसमेत बढाउन थालेको विश्लेषण गरिएको छ ।
दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ । राष्ट्रपतिका प्रमुख सचिव काङ् हुन–सिकले कर राजस्वबाट प्राप्त अतिरिक्त आम्दानी एआई तथा सेमिकन्डक्टर उद्योगका ठूला परियोजनामा लगानी गरिने र त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताएको छ ।
यसैबीच एसके हाइनिक्ससँग सम्बन्धित ज्याकेट यस वर्ष सामाजिक सञ्जालमा धन र सफलताको प्रतीकका रूपमा भाइरल बनेको थियो । विभिन्न व्यङ्ग्यात्मक सामग्रीमा त्यसलाई विलासी जीवनशैली र राम्रो वैवाहिक सम्भावनाको ‘सुनौलो टिकट’ का रूपमा चित्रण गरिएको थियो । योन्हापका अनुसार वैवाहिक मिलान संस्था सुनुले तयार पारेको ‘वाञ्छनीयता सूचकाङ्क’ मा सामसुङ र एसके हाइनिक्सका कर्मचारीको आकर्षण डाक्टर र वकिलसरह पुगेको देखिएको छ ।



प्रतिक्रिया