सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रे अझै जोखिममा


काठमाडौं । देशका विभिन्न ११ जिल्लामा फैलिएको बर्डफ्लु संक्रमण सातवटा जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन। विभागले यी चार जिल्लालाई अझै पनि विशेष निगरानीमा राखेको जनाएको छ।

विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका पन्छी, अण्डा, दाना तथा अन्य पन्छीजन्य सामग्री नष्ट गरेको छ। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार जोखिमयुक्त सामग्रीको सुरक्षित व्यवस्थापन भइसकेको छ।

संक्रमण नियन्त्रणका लागि पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य क्षेत्रमा निगरानी बढाएका थिए। यस क्रममा अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत नियन्त्रणमा लिएर नष्ट गरिएको विभागले जनाएको छ। केही जिल्लामा अवस्था सामान्य बन्दै गएपछि पन्छीको ओसारपसारमा लगाइएको कडाइलाई क्रमशः खुकुलो बनाइएको छ।

उच्च मृत्युदर हुने यो संक्रामक रोग थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिएको प्रवक्ता उपाध्यायले बताए। विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन तथा शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।