शरणार्थी र टेरामक्स फैसलाले दलहरूलाई बदनाम गराउने ‘काल्पनिक कथा’ बुनिएको पुष्टि गर्‍यो : महेश बस्नेत


नेकपा एमालेका सचिव महेश बस्नेतले नक्कली भुटानी शरणार्थी र टेरामक्स प्रकरणका हालैका अदालती फैसलाहरूले स्थापित दल र तिनका नेताहरूलाई बदनाम गराउन ‘काल्पनिक कथाहरू’ बुनिएको पुष्टि गरेको दाबी गरेका छन्। मङ्गलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सचिव बस्नेतले यस्तो दाबी गरेका हुन्।

उनले टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विशेष अदालतबाट पाएको सफाइ र भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा र सन्दीप रायमाझीसहित ७ जनाले जिल्ला अदालतबाट पाएको सफाइलाई न्यायालयको दूधको दूध, पानीको पानी छुट्ट्याउने फैसलाका रूपमा चित्रण गरे।

सञ्जालमा लेख्दै सचिव बस्नेतले भनेका छन्, ‘न्यायालयका यी फैसलाबाट पुराना दल र ती दलका नेतालाई बदनाम गराउन भ्रष्टाचारलगायतका मुद्दामा काल्पनिक कथा बनाइएका थिए भन्ने कुरा स्वतः प्रमाणित हुन्छ। प्रमाणले होइन, अल्गोरिदमबाट बनाइएको मनले भने यस्ता कुरा सहजै लिन समय लाग्नेछ।’

काठमाडौं जिल्ला अदालतले मङ्गलबार शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापासहित ७ जनालाई सफाइ दिएको थियो।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको टेरामक्स खरिद अनियमितता प्रकरणमा विशेष अदालतले पूर्वसञ्चारमन्त्री बस्नेतसहितका प्रतिवादीहरूलाई सफाइ दिएको छ।